काठमाण्डू, १२ साउन– सुनसरी घटनाका बारेमा गृह मन्त्रालयमा सुरक्षा प्रमुखसहितको उपस्थितीमा छलफल सुरु भएको छ । गत (आइतबार) राति सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु भएपछि दुई पक्षबीच उत्पन्न विवाद र झडपको घटनाहरू अन्य जिल्लाहरूमा पनि फैलिएको छ ।
यसैबारे छलफलमा गर्न नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेललगायत गृह मन्त्रालयमा पुगेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठलगायतको उपस्थितिमा छलफल सुरु भएको छ ।
यसअघि सोमबार साँझ पनि सुनसरी घटनाका बारेमा मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो ।
सोही क्रममा अर्को समूहले रातिको समयमा हो–हल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो । यो विवाद तराईको अन्य जिल्लाहरूमा पनि फैलिएको हो ।