कप्तानगञ्जको घटनाको निष्पक्ष छानबिन गर्न राप्रपाको माग

काठमाण्डु टुडे २०८३ साउन १२ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, १२ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कडा कारबाही र पीडितलाई राहतको माग गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा एक युवाको मृत्यु भएको र केही व्यक्ति घाइते भएकोमा दुःख व्यक्त गर्दै यस्तो माग गरेका हुन । उनले मृतकका परिवारलाई राहत, क्षतिपूर्ति र न्याय दिलाउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन ।

राप्रपाले घटनाको सत्यतथ्य, निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा छानबिन गरी हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सद्भाव बिथोल्ने जो–कोहीलाई पनि कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने पनि बताएको छ ।

दण्डहीनताको संस्कृतिले यस्ता घटनालाई थप प्रोत्साहन गर्ने भएकाले दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने अध्यक्ष लिङ्देनले उल्लेख गरेका छन्। विशेषगरी तराई–मधेस क्षेत्रमा चाडपर्व वा धार्मिक अवसरका बेला बारम्बार तनाव र साम्प्रदायिक विवाद उत्पन्न हुने गरेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

धार्मिक संवेदनशीलतामाथि भइरहेको प्रहार, सुरक्षा व्यवस्थाको कमजोरी र प्रशासनिक उत्तरदायित्वको गहिरो अध्ययन गरी दीर्घकालीन समाधान खोज्न राप्रपाले सरकारसँग आग्रह गरेको छ। यस्ता घटना सधैँका लागि अन्त्य गर्न सर्वपक्षीय समिति बनाएर तत्काल संवाद थाल्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिने सुनिश्चितता प्रदान गर्न सरकारसँग माग गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us