काठमाण्डू, ७ साउन– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधिपूर्वक काम गर्न र नतिजा देखाउन आफूलाई प्रधानमन्त्री बालेन शाहले निर्देशन दिएको बताएका छन ।
आज (बिहिबार) आन्तरिक राजश्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यसबारे जानकारी गराएका हुन् ।
प्रधानमन्त्री शाहले आफूलाई पात्रभन्दा पनि कामको प्रकृति र नतिजाको सरोकार रहेको बताएको पनि अर्थमन्त्री वाग्लेले जानकारी गराए ।
‘अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यूले पनि हामीलाई बारम्बार भन्नुहुन्छ– कसलाई ल्याउने वा कसलाई राख्ने भन्ने मेरो व्यक्तिगत चासो छैन,’ वाग्लेले भने, ‘नतिजा आउनुपर्छ, तपाईंहरू आफ्नो विधि र प्रक्रियाअनुसार काम गर्नुहोस् । मैले पनि यही भावना मन्त्रालयमा लागू गरेको छु ।’
सरुवा र बढुवाका लागि राजनीतिक दल वा शक्ति केन्द्रको सोर्सफोर्स लगाउने प्रवृत्तिलाई पूर्णतस् निरुत्साहित गरिने उनको भनाइ थियो । विगतमा सरुवाका लागि नेता र गुट समात्ने अभ्यासले ऊर्जा र समय नष्ट गरेको चर्चा गर्दै उजले अब त्यस्तो प्रणाली अन्त्य हुने दाबी उनले गरे ।
सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनैपनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने उनले बताएका छन । ‘कसैको आफन्त, नातेदार वा कुनै नेताको सिफारिसका आधारमा निर्णय हुने छैन । यदि कसैले दबाब दिन खोज्छ भने त्यसले उल्टै नकारात्मक परिणाम भोग्नुपर्ने हुन्छ,’ उनले भने, ‘मैले गरेका नियुक्तिहरू पनि योग्यता र निष्पक्ष मूल्याङ्कनका आधारमा भएका छन् ।
उदाहरणका रूपमा, राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिमा धेरैले लबिङ गरे, तर लबिङ नगर्ने योग्य व्यक्ति नै नियुक्त हुनुभयो । यही प्रणालीलाई संस्थागत गर्न हामी लागिरहेका छौँ ।’
राजश्व प्रशासनको सुधार र कर्मचारीको हौसला वृद्धिका लागि आफू स्वयं देशभरका भन्सार र कर कार्यालयहरूको स्थलगत अनुगमनमा जाने प्रतिवद्धता समेत उनले जनाए ।
कर्मचारीहरूका समस्या, चुनौती र गुनासाहरू सुन्न आफू सधैँ तयार रहेको बताउँदै उनले कुनैपनि सुझाव वा समस्या भए सिधै मन्त्रालयमा सम्पर्क गर्न अनुरोध समेत गरे ।