सर्लाहीमा मिटरब्याजीको कुटपिटबाट एकै परिवारका चार जना घाइते

काठमाण्डु टुडे २०८३ साउन ६ गते १२:०३ मा प्रकाशित

काठमाण्डू, ६ साउन– सर्लाहीको बसबरिया गाउँपालिका–२ निवासी इन्दल सहनी मिटरब्याजीसँगको जग्गा विवादका क्रममा भएको कुटपिटबाट गम्भीर घाइते भएका छन ।

घटनामा सहनीसहित उनका दुई छोरा र श्रीमती गरी एकै परिवारका चार जना घाइते भएको प्रहरीले जनाएको छ । पीडित पक्षका अनुसार इन्दल सहनीले केही वर्षअघि लक्ष्मी कुर्मी राउतसँग ८ लाख रुपैयाँ ऋण लिएका थिए ।

ऋणको ग्यारेन्टीस्वरूप २६ कठ्ठा जग्गा राजीनामा पास गरिएको थियो। मौखिक सहमतिअनुसार साँवा–ब्याज चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने शर्त थियो ।

पीडितले सुरुमा ६ लाख रुपैयाँ र त्यसपछि पटक–पटक गरी करिब १०–११ लाख रुपैयाँ बुझाइसकेको दाबी गरेका छन् । वडा कार्यालयमा समेत जग्गा फिर्ता गर्ने सहमति भएको बताइए पनि त्यसअघि नै साहु लक्ष्मी कुर्मी राउतको निधन भएको थियो ।

त्यसपछि उनका छोरा बिलास शाहले उक्त जग्गा अर्को व्यक्तिको नाममा बिक्री गरिदिएको आरोप पीडित पक्षको रहेको छ । रकम पूर्ण रूपमा चुक्ता गरेपछि पनि आफ्नो जग्गा फिर्ता नपाएको इन्दल सहनीले दाबी गरेका छन्। विवादित जग्गा भने पछिल्लो १० वर्षदेखि सहनी परिवारले नै जोतभोग गर्दै आएको जनाइएको छ । इन्दल सहनी ‘मिटरब्याज विरुद्ध पैदल न्याय मार्च’ का सहभागी आन्दोलनकारीसमेत हुन् ।

आन्दोलनबाट घर फर्किएपछि साहु पक्षले विवादित जग्गामा जबर्जस्ती धान रोप्न खोजेको र त्यसको विरोध गर्दा आक्रमण भएको पीडित पक्षको आरोप रहेको छ ।

पीडितका अनुसार विशाल शाहको नेतृत्वमा विशेषर शाह, लक्ष्मण शाह, जगदीश शाह, रामप्रवेश शाह तथा परिवारका अन्य सदस्यले इन्दल सहनीमाथि सामूहिक रूपमा कुटपिट गरेका हुन् ।

घटनामा इन्दल सहनी, उनका छोरा उमेश सहनी, मुना सहनी र श्रीमती भगवती कुमारी सहनी गम्भीर घाइते भएका छन् । उनीहरूको बरहथवास्थित अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us