काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार लोकतान्त्रिक मूल्य–मान्यताविपरीत प्रतिशोधको राजनीतितर्फ उन्मुख भएको आरोप लगाउँदै स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय र लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन् ।
विपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा मंगलबार जारी सन्देशमा देउवाले लोकतन्त्र कमजोर हुँदा राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता समेत जोखिममा पर्ने उल्लेख गर्दै लोकतन्त्रको रक्षा गर्नु नै राष्ट्रको रक्षा गर्नु भएको बताएका छन् ।
उनले गत फागुनमा सम्पन्न निर्वाचनपछि जनताले दिएको जनादेशलाई सम्मान गर्दै नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको भए पनि सरकारले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति अघि बढाएको आरोप लगाए ।
न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकायलाई कार्यकारी नियन्त्रणमा राख्ने प्रयास भइरहेको भन्दै उनले यस्ता गतिविधिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने चेतावनी दिए ।
देउवाले नेपाली कांग्रेस अब केवल प्रतिपक्षी दलको भूमिकामा सीमित नरहने उल्लेख गर्दै लोकतन्त्र, संविधान, राष्ट्रियता तथा नागरिकको सुरक्षाको अनुभूतिको रक्षा गर्नु पार्टीको ऐतिहासिक जिम्मेवारी भएको बताए ।
विपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसका आधारभूत मूल्य भएको उल्लेख गरे ।
विभाजन, अविश्वास र प्रतिशोधको राजनीतिभन्दा माथि उठेर राष्ट्रिय एकता, संवाद र सहकार्यमार्फत राष्ट्र निर्माणमा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
स्वास्थ्य उपचारका क्रममा केही समयदेखि विदेशमा रहे पनि देशको राजनीतिक अवस्थालाई निरन्तर नियालिरहेको उल्लेख गर्दै देउवाले अब नेपाल फर्केर लोकतन्त्र, संविधानवाद र राष्ट्रिय हितको पक्षमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सन्देशको अन्त्यमा देउवाले लोकतान्त्रिक शक्तिहरू, नागरिक समाज, युवा पुस्ता र आम नेपालीलाई संविधान, राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि एकताबद्ध हुन आह्वान गरेका छन् ।