काठमाण्डू, ५ साउन– इंग्ल्यान्डका महान फुटबलर तथा पूर्व प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन भएको छ ।
केही महिनाअघि उनलाई चौथो चरण (स्टेज–४) को क्यान्सर भएको पुष्टि भएको थियो र उपचार सुरु गर्ने तयारीमा रहेका बेला उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
उनको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त दुःखका साथ हामी केभिन कीगनको ७५ वर्षको उमेरमा निधन भएको जानकारी गराउँछौं । क्यान्सरसँग संघर्ष गरिरहेका उहाँले अन्तिम क्षणमा श्रीमती र दुई छोरीको साथ पाउनुभएको थियो ।’
परिवारले कीगनलाई दुई पटकका बालोन डी’ओर विजेता, आदर्श पति, पिता र हजुरबुबाका रूपमा स्मरण गर्दै उपचारमा सहयोग गर्ने चिकित्सक टोलीप्रति आभार व्यक्त गरेको छ ।
साथै शोकको यस घडीमा गोपनीयताको सम्मान गर्न पनि आग्रह गरेको छ । इंग्ल्यान्ड फुटबल संघले सेप्टेम्बरमा वेम्ब्ली रंगशालामा स्पेनविरुद्ध हुने यूईएफए नेसन्स लिग खेलअघि कीगनप्रति विशेष श्रद्धाञ्जली अर्पण गर्ने जनाएको छ ।