राहुल गान्धीको मागः प्रदर्शनमा विद्यार्थी कुटिएको घटनामा नरेन्द्र मोदीले माफी माग्नुपर्छ

काठमाण्डु टुडे २०८३ साउन ५ गते १५:५१ मा प्रकाशित

एजेन्सी– भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रहरीले प्रदर्शनकारी विद्यार्थीमाथि गरेको लाठीचार्जका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नुपर्ने बताएका छन ।

आज (मंगलबार) लोकसभा संसद् परिसरमा पत्रकारसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्षका नेता गान्धीले प्रधानमन्त्री मोदीले विद्यार्थीसँग माफी माग्नुपर्ने उनले बताएका हुन । सोमबार नयाँ दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी)ले आयोजना गरेको प्रदर्शनमा सहभागीमाथि प्रहरीले ठूलो दमन गरेको थियो ।

प्रहरीले विद्यार्थीमाथि लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो । जसको अहिले भारतमा तीव्र विरोध भइरहेको छ । गान्धीले विद्यार्थीका मुद्दा संसद्मा छलफल गर्न पनि सरकार बच्न कोसिस गरिरहेको बताएका छन् ।

‘हामीले लोकसभाको सभामुखसँग छलफल गरेर संसद्मा विद्यार्थीका मुद्दामाथि छलफल गराउन माग गर्‍यौं,’ पत्रकारसँग गान्धीले भने, ‘तर, सभामुखले भन्नुभयो–चर्चा गराउनका लागि सरकारको स्वीकृति लिनुपर्छ ।’ अहिले भारतमा उठिरहेका मुद्दा विद्यार्थीको भविष्यसँग जोडिएको उनले बताए ।

‘विद्यार्थीलाई मारपिट भइरहेको छ, यो ठीक होइन । नरेन्द्र मोदीले यसका लागि माफीसम्म मागेका छैनन् । यी युवा ध्वस्त भइसकेको शिक्षा व्यवस्था र परीक्षा प्रणालीविरुद्ध प्रदर्शन गरिरहेका छन्,’ उनले भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us