मेसीबिनै स्वदेश फर्कियो अर्जेन्टिनी टोली

काठमाण्डु टुडे २०८३ साउन ५ गते १५:२० मा प्रकाशित

काठमाण्डू, ५ साउन– फिफा विश्वकप फुटबलको फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाको राष्ट्रिय टोली कप्तान लियोनल मेस्सीबिनै स्वदेश फिर्ता भएको छ ।

अर्जेन्टिना फुटबल संघ (एएफए) ले सोमबार टोलीका केही खेलाडी स्वदेश फर्किने उडानमा सहभागी नभएको जनाएको थियो । स्थानीय टेलिभिजनले प्रसारण गरेका दृश्यहरूमा पनि मेस्सी विमानबाट ओर्लिएको नदेखिएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन ।

मुख्य प्रशिक्षक लियोनल स्कालोनीसहित स्वदेश फर्किएका खेलाडीहरूको विमानस्थलमा रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो । उनीहरूको सम्मानमा सैनिक ब्यान्डले पनि सांगीतिक प्रस्तुति दिएको थियो । चिसो मौसम र वर्षाको प्रवाह नगरी हजारौँ समर्थकहरू एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको एएफएको प्रशिक्षण केन्द्रबाहिर टोलीको स्वागत गर्न भेला भएका थिए ।

समर्थकहरू राष्ट्रिय झण्डा ओढेर तथा नीलो–सेतो रङका छाताहरू बोकेर खेलाडीहरूको प्रतीक्षामा बसेका थिए । चार वर्षअघि सन् २०२२ को विश्वकप उपाधि जितेर फर्किँदा लाखौं समर्थकले सडकमा ओर्लिएर उत्सव मनाएको दृश्य यसपटक दोहोरिएन ।

यद्यपि, टोलीको प्रदर्शनप्रति सम्मान व्यक्त गर्न ठूलो संख्यामा समर्थकहरू उपस्थित भएका थिए । फाइनलमा अर्जेन्टिना स्पेनसँग १–० ले पराजित भएको थियो । अर्जेन्टिनाको लगातार दोस्रोपटक विश्वकप जित्ने लक्ष्य पूरा हुन सकेन । धेरै समर्थकले भने विश्वकपको वास्तविक उपलब्धि सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित रहेको बताए ।

फकल्यान्ड टापुको सार्वभौमिकतालाई लिएर दुई देशबीच लामो समयदेखि रहेको विवादका कारण उक्त जितलाई धेरैले विशेष महत्त्व दिएका थिए ।

पराजयले निराश भए पनि आइतबार राति हजारौँ समर्थक ब्युनस आयर्सस्थित ओबेलिस्कमा भेला भएका थिए । यद्यपि, राति अबेर केही स्थानमा झडप भएपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरका गोली प्रयोग गरेर भिडलाई तितरबितर पारेको थियो । प्रहरीका अनुसार घटनामा १५ जनालाई नियन्त्रणमा लिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us