विश्वकप हारपछि भावुक बने मेसी, भनेः यो पीडा निको हुन समय लाग्नेछ

काठमाण्डु टुडे २०८३ साउन ५ गते १५:१३ मा प्रकाशित

काठमाण्डू, ५ साउन– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसी धेरै भावुक भएका छन ।

आफ्नो सम्भावित अन्तिम विश्वकप खेलपछि मैदानमै आँसु झारेका मेसीले हारको पीडा भुल्न समय लाग्ने बताएका छन । स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै विश्वकप उपाधि जितेको एक दिनपछि मेसीले सोमबार इन्स्टाग्राममार्फत समर्थकलाई भावुक सन्देश दिएका हुन ।

उनले रजत पदक बोकेको आफ्नो तस्बिरसँगै लेखेका छन्, ‘यो पीडा निकै ठूलो छ, र यो घाउ निको हुन समय लाग्नेछ।’ यद्यपि उनले टोलीले हासिल गरेका उपलब्धिलाई पनि स्मरण गरेका छन् । मेसीले लेखेका छन्, ‘तर म सकारात्मक पक्षहरूलाई पनि सम्झिरहेको छु ।

हामीले अन्तिमसम्म लडेर जितेका खेलहरू, कहिल्यै नबिर्सिने क्षणहरू र सम्पूर्ण देशको साथ । यही समर्थन, टोलीको अथक मेहनत र समर्पणले हामीलाई फेरि विश्व फुटबलको शीर्ष टोलीहरूमध्ये एक बनायो।’ उनले थपे, ‘अहिले हाम्रो उपलब्धिको महत्त्व पूर्ण रूपमा महसुस गर्न गाह्रो छ। तर यो टोली लगातार दोस्रो पटक विश्वकपको फाइनलसम्म पुग्न सफल भयो।’

अर्जेन्टिनाले सन् २०२२ को कतार विश्वकप फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो। त्यो उपाधिसँगै मेसीले आफ्नो करिअरको सबैभन्दा ठूलो सपना पूरा गरेका थिए । उत्तर अमेरिकामा आयोजित २०२६ विश्वकपमा पनि अर्जेन्टिना उत्कृष्ट टोलीमध्ये एक रह्यो ।

सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै फाइनल पुगेको अर्जेन्टिना स्पेनको सशक्त रक्षापङ्क्तिविरुद्ध भने गोलतर्फ एउटा पनि प्रहार गर्न पूर्ण असफल भयो । यस विश्वकपकै क्रममा ३९ वर्ष पुगेका मेसी सन् २०३० को विश्वकप हुँदा ४३ वर्षका हुनेछन् । अर्को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्र्दै छन । यद्यपि मेसीले आफ्नो विश्वकप करिअर समाप्त भएको वा नभएको विषयमा कुनै स्पष्ट संकेत दिएका छैनन् ।

समर्थकप्रति आभार व्यक्त गर्दै उनले लेखेका छन्, ‘हरेक शुभकामना र सन्देशका लागि हृदयदेखि धन्यवाद। फेरि एकपटक हामी सबै अर्जेन्टिनी एकजुट भयौं र आफ्नो देशप्रति गर्व गर्ने अवसर पायौं। साथै, विश्वकप जितेकोमा स्पेनलाई पनि बधाई दिन चाहन्छु ।’

यस विश्वकपमा मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको १६ विश्वकप गोलको कीर्तिमान तोड्दै आफ्नो कुल विश्वकप गोल संख्या २१ पुर्‍याएका थिए । तर फ्रान्सका किलियन एम्बाप्पेले २२ गोलसहित उनलाई उछिन्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us