च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

काठमाण्डु टुडे २०८३ साउन ४ गते १३:३४ मा प्रकाशित

काठमाण्डू, ४ साउन– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा आएका छन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीले आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैं परिवारको सम्पर्कमा आएको जानकारी दिए ।

सम्पर्कमा आएका महिलाहरूले बताए अनुसार जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिँदा सम्पर्कविहीन भएको थारूले जानकारी दिए । परिवारको सम्पर्कमा आएका उनीहरूको अवस्था बुझ्नका लागि प्रमुख जिल्ला अधिकारीको टोली समेत भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ ।

उनीहरू आइतबार बिहान ११ बजे च्याउन खोज्न जंगल पसेका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले पनि उनीहरू केहीबेर अघि मात्रै परिवारको सम्पर्कमा आएको र सबै सुरक्षित रहेको पनि उनले जानकारी दिए ।

आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो ।

उनीहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ । निकुञ्जमा अवैध च्याउ टिप्न गएका तीन वटा महिला समूह सम्पर्कविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us