काठमाडौं- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप साहले आफूमाथि जारी भएको पक्राउ पुर्जीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् ।
उनले आरोपको कानुनी रूपमा सामना गर्ने र सम्पूर्ण कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साहले आफूलाई बदनाम गर्ने उद्देश्यले योजनाबद्ध रूपमा भ्रम सिर्जना गरिएको र प्रशासनलाई समेत गुमराह बनाइएको आरोप लगाए ।
‘आरोप लाग्नु र दोषी ठहर हुनु फरक कुरा हो। केही दिनमै सत्यता बाहिर आउनेछ । कानुनले आफ्नो काम स्वतन्त्र रूपमा गरोस् । म विधिसम्मत रूपमा आफ्नो कानुनी लडाइँ लड्नेछु र कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्न तयार छु,’ उनले उल्लेख गरेका छन् ।
साहले आफूलाई विश्वास गरेर निर्वाचित गराउने मतदाता तथा समर्थकप्रति आभार व्यक्त गर्दै जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता पनि जनाएका छन् ।
साहविरुद्ध कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा मुद्दा दर्ता भएको छ ।
शर्माले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार अदालतबाट साहविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ र पक्राउ प्रक्रिया जारी छ ।