भारतले ठूला नेताको हत्या हुनसक्ने सूचना दिएपछि सुरक्षा निकायमा हल्ली खल्ली

काठमाण्डु टुडे २०७१ असोज २८ गते २:३९ मा प्रकाशित

काठमाण्डु, २८ असोज– भारत सरकारले आतंकवादीद्वारा नेपालका महत्वपूर्ण नेताहरुको हत्या हुनसक्ने सूचना नेपाल सरकारलाई दिएको १८ दिनपछि सुरक्षा निकायका प्रमुखहरुले यसलाई गम्भीरतापूर्वक लिँदै विशेष छलफल चलाएका छन् ।
सुरक्षा निकायका प्रमुखहरुको आइतबार र सोमबारका विभिन्न बैठकमा विमानस्थल विशेष सुरक्षा योजना तयार गर्नेबारे छलफल भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालय बबरमहलमा गृहसचिव सूर्य सिलवालको अध्यक्षतामा बसेको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा मजवुत बनाउनेबारे छलफल भएको सुरक्षा स्रोतले बतायो ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख जितबहादुर केसीसहित नेपाली सेनाका उपरथी, रक्षा र गृहमन्त्रालयका उच्च अधिकृत सम्मिलित बैठकमा विमानस्थलमा तैनाथ सुरक्षा निकायहरुले नै तत्काल योजना तयार गर्ने निर्णय भएको छ ।

विमानस्थलको भित्रि भागको सुरक्षामा नेपाल प्रहरी र बाहिरी सुरक्षा नेपाली सेनाले गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us