कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणीः ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’

काठमाण्डु टुडे २०८३ असार १५ गते १३:१४ मा प्रकाशित

काठमाण्डू, १५ असार– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले पछिल्लो समय कम्युनिस्ट पार्टीहरू बिच भइरहेको एकता र संयुक्त मोर्चा बनाउने प्रयासप्रति कडा टिप्पणी गरेका छन ।

एमाले नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको भन्दै व्यङ्ग्य गरेका हुन् । उनले राजनीतिक वृत्तमा भइरहेका यस्ता प्रयासलाई नेतृत्वले आफ्नो असफलता लुकाउने प्रपञ्चको रूपमा अर्थ्याएका छन् ।

नेता बास्कोटाले देशमा भयङ्कर खतरा देखाएर नेतृत्वबाट यस्तो भाष्य निर्माण गर्न खोजिएको आरोप समेत लगाएका छन । एमाले नेता बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘भयङ्कर खतरा देखाउँदै नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो ।’

राजनीतिक दलहरू बिच एकता वा मोर्चा बनाउने नाममा नेतृत्वले केवल आफ्नो स्वार्थ मात्रै हेरेको उनको बुझाइ छ । उनले कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई वास्तवमै सुधार र शक्ति आर्जन गर्न चाहेको हो भने पहिले आफ्नो गल्ती स्वीकार गर्न चुनौती समेत दिएका छन् ।

बास्कोटाले नेतृत्वलाई प्रश्न गर्दै अगाडि लेखेका छन्, ‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो–भन। आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us