काठमाण्डू, ३२ असार– कांग्रेसले तीन दल मिलेर प्रदेशमा सरकार बनाउँदा संसद प्रतिपक्षविहीन हुने हुँदा उक्त प्रस्तावलाई स्विकार्न नसकिने बताएको छ ।
कांग्रेस सभापति गगन थापाले प्रदेशमा कांग्रेस, एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बनाउने प्रस्ताव आएको तर त्यसलाई स्विकार्न नसकिने खुलासा गरेका हुन ।
सरकार गठन हुन नसकेको अवस्थामा दुई दल मिल्नु वाध्यता हुने पनि सभापति थापाले बताएका छन । प्रदेश सरकारमा सहकार्यले निरन्तरता नपाउनुको कारण नेकपा एमाले रहेको कांग्रेसको बुझाइ छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले ल्याएको बजेटमा एमालेले असहयोग गरेपछि दुई दलको सहकार्यमा समस्या उत्पन्न भएको थियो ।
सत्ता गठबन्धनमा बसेर सरकारले ल्याएको बजेटको अपनत्व एमालेले नलिएको महामन्त्री प्रदीप पौडेलले बताए । ‘सुदूरपश्चिममा विपक्षीका कारणले सरकारलाई समस्या परेको होइन । एमालेबाट बजेट पुनर्लेखनको माग राखियो,’ महामन्त्री पौडेलले भने, ‘बजेट पुनर्लेखनका लागि समय पनि थिएन । सत्ता गठबन्धनमा रहेर हामीले अरुतिर एमालेका मुख्यमन्त्री कहीँ पनि अप्ठेरो पारेनौं । ’
प्रदेश सरकार हेरफेर र सुदूरपश्चिममा दुई दलमा उत्पन्न विवाद समाधानका लागि छलफल गर्न कांग्रेसका शीर्ष तहका नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।
एमाले अध्यक्ष ओली प्रदेश सरकारमा नेकपालाई पनि सहभागी गराउने पक्षमा थिए । नेकपालाई सरकारमा सहभागी गराउँदा संसद प्रतिपक्ष विहीन हुने भन्दै दुई दलले मात्रै सत्ता सहकार्य गर्न उपयुक्त हुने कांग्रेसको तर्क थियो ।
तीन दलीय गठबन्धन गरेर सरकार गठन नहुने कांग्रेसले स्पष्ट पारेको छ । कांग्रेसले एमालेसँग सत्ता सहकार्य टुंगिएको निष्कर्ष निकालेको छ । नेकपासँग सहकार्य भने विकल्प भने कायम राखेको छ । प्रदेशका प्रमुख दुई दलमा सत्ता सहकार्यमा समस्या भएपछि मन्त्रीहरुले राजीनामा दिने र मुख्यमन्त्रीले बर्खास्त गर्ने क्रम सुरु भएको छ ।