काठमाण्डू, ३० असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आत्मदाह गरेका गणेश नेपालीलाई बचाउन गृहमन्त्रीसँग आफूहरू गएर रातदिन अहोरात्र प्रयास गर्दा पनि नसकेको तर्क गरेका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै यो घटनामा संलग्नलाई कारबाही गर्न सरकारले छानबिनको पहल गरेकाले धन्यवाद समेत दिए । उनले भने, ‘यसमा यति धेरै राजनीतिक, धेरै जातीय रङ्ग पोतियो, सदन र सडकमा पनि कहाँ गयो खगेन्द्र सुनाररु कहाँ गएको छ ? हिजो नेल लाएर आएको खगेन्द्र सुनार कहाँ गयो ?
भनेर जताततै खोजेको मैले त्यहाँ पाएँ । यसलाई जातीय रूपमा भएको घटना मात्र होइन, मेरो घरको मान्छे, मेरो थरको मान्छे मर्यो, मलाई त्यसमा पीडा छ ।’ आजभन्दा ८ वर्ष पहिला रुकुमको सोतीमा ६ जनाको हत्या हुँदा ममाथि प्रश्न उठाउने क्रान्तिकारी साथीहरू कहाँ थिएरु भन्दै प्रश्न समेत गरे ।
उनले आफूमाथि प्रश्न उठाउने विपक्षीलाई भने, ‘अहिले बालेनको मुर्दावाद भन्ने क्रान्तिकारी साथी, तपाईँकै छेउमा बसेको मित्र गृह मन्त्री हुँदै गर्दा ६ जना मान्छेको हत्या भएको थियो । अहिले बालेनको मुर्दावाद भन्ने कमरेडले, त्यतिबेला बाको मुर्दावाद भन्न सक्ने दम छ ?’
उनले पीडित परिवारको जिम्मा सरकारले लिने पनि बताएका छन । उनले थपे, ‘हिजो नेल लगाएर आएको भनेर खोजिएको थियो । यहाँ छ खगेन्द्र सुनार ! यो नेल लगाएर आएको खगेन्द्र सुनार हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन ।
हामी नेल लगाएर आएको एउटा विद्रोहीलाई कति बेला विद्रोह गर्नुपर्छ, कति बेला विरोध गर्नुपर्छ भन्ने कुरा हामीले बुझेर आएका छौँ।’