काठमाण्डू, ३० असार– प्रमुख प्रतिपक्षी दल कांग्रेसका सचेतक निश्कल राईले सरकारले ‘श्री ८ बालेन शाह’ लाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको टिप्पणी गरेका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै बहुमतले संविधान उल्लङ्घन गर्ने लाइसेन्स नदिने पनि उनले बताए । राईले भने, ‘बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन ।
संविधानको धारा १३७ ले न्यायिक समीक्षाको व्यवस्था गर्छ । संविधानको धारा १ ले नै भन्छ, यो संविधान सर्वोच्च कानून हो । बहुमत संविधानभन्दा माथि छैन ।
बहुमतले जनताको प्रतिनिधित्व गर्छ, जनताको अधिकार कुल्चिने अधिकार दिँदैन ।’ सरकारले १८२ सीटको प्रचण्ड बहुमत दोहोर्याएर पनि त्यो संख्याले प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का नदिएको टिप्पणी समेत गरेका छन । उनले थपे, ‘यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न वर्जित छ भन्ने हो ।
सरकारले खासगरी श्री ८ बालेन शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यति मात्र कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्न भन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ ।’