सिंहदरबार छिर्न रोकिएपछि गेटमै बसे निहारिका र बिनु

काठमाण्डु टुडे २०८३ असार २९ गते १४:४९ मा प्रकाशित

काठमाण्डू, २९ असार– सिंहदरबारस्थित गृह मन्त्रालय जान हिँडेका दुई महिलालाई प्रहरीले रोकेपछि गेटमै धर्ना बसेका छन । सिंहदरबार छिर्ने पास भएर पनि छिर्न नदिएकोप्रति उनीहरुको विरोध जनाएका हुन ।

विगतमा ‘कुमारी आमा’ भनेर परिचित बनेकी निहारिका राजपुत र ‘घरायशी हिंसा पीडित’ बिनु यादव आज गृह मन्त्रालयमा गएर आफ्ना समस्या राख्ने योजनासहित आएका थिए । निहारिकाको साथमा नाबालक छोरा पनि छन् । उनीहरुलाई रास्वपाकी एक महिला सांसदले सिंहदरबारको पास मिलाइदिएकी थिइन् ।

पास लिएर सिंहदरबार छिर्न खोज्दा प्रहरीले माथिको आदेश भन्दै रोकेको निहारिकाले बताएकी छन । उनले भनिन्, ‘हाम्रो लागि यो सरकार होइन ? कोही पीडितलाई गृहमन्त्रीले आफैँ खोजी खोजी भेट्ने, हामीलाई चाहीँ सिंहदरबारभित्र छिर्न पनि नदिने ? हामी यहीँ धर्ना बस्दै छौँ ।’

प्रहरीले भित्र जान नमिल्ने बताएपछि बिनु सडकमै सुतेको थिइन् । निहारिका आफ्नो सानो बच्चा च्यापेर पानीमा रुझ्दै बसिरहेकी छन् । प्रहरीले उनीहरुलाई गेटबाट साइड लगाएको छ । तर, पक्राउ गरेके छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us