एमाले महासचिव भन्छन्ः सस्तो लोकप्रियतावादबाट देश बदलिदैँन

काठमाण्डु टुडे २०८३ असार २९ गते १३:४६ मा प्रकाशित

काठमाण्डू, २९ असार– एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिज्म) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने तर्क गरेका छन ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै एमाले महासचिव पोखरेलले यस्तो तर्क गरेका हुन । महासचिव पोखरेलले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको पनि बताएका छन ।

पोखरेलले देशको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको पनि बताएका छन ।

आफैँभित्रका विकृति र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई विकृति अन्त्य र राजनीति सुधारको जिम्मा सुम्पनु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाली समाजले विस्तारै महसुस गर्न थालेको पोखरेलले बताएका छन ।

उनले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको व्यवहार नै विरोधाभासपूर्ण देखिएको पनि बताएका छन ।

चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us