पाल्पा, २७ असोज – पाल्पामा एक महिलाको छुरी धसेर हत्या भएको छ । चार जनाको समूहमा रहेका लुटेराले रामपुर नगरपालिका – ७ की ५१ वर्षीया कोपिलादेवी मल्लको हत्या गरेको प्रहरीले जनाएको छ ।
सोमवार दिउँसो छुरी धसेर हत्या गर्ने चार जनालाई स्थानीयबासीले पक्राउ गरेका छन् । सोमवार दिउँसो एक बजेतिर लुटपाट गर्न छिरेका उनीहरुले घरमा एक्लै रहेकी मल्ललाई छुरा प्रहार गरी हत्या गरेका हुन् ।
छुरा प्रहारबाट गम्भीर घाइते भएकी मल्लको स्थानीय रामपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरीक्षक केशरबहादुर थापाले बताए ।
वाणिज्य वैंकको शाखा कार्यालयको आडैमा रहेको घरमा चिच्याएको आवाज सुनेपछि स्थानीयले भारत विहार पटनाका १८ वर्षीय कृष्ण साहनी, वीरगञ्जका सन्तोष साह, शंकर साह कानु र लालबाबु साह कानुलाई पक्रेर प्रहरीलाई बुझाएका छन् ।
स्थानीयबासीको कुटपिटबाट साहनी गम्भीर घाइते भएका छन् । उनलाई मिसन अस्पताल तानसेन लगिएको छ ।