काठमाण्डु, २७ असोज – नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले काँग्रेसले संघीयता र शासकीय स्वरुपमा प्रस्तुत गरेको धारणा बटमलाईन नभई विकल्प भएको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा बडुले मुलुकमा जातीय द्धन्द मेटिने र सबैको पहिचान स्थापित हुने गरी काँग्रेसले अवधारणा प्रस्तुत गरेको भन्दै एकल जातीय पहिचानले हित नगर्ने भएकोले काँग्रेसलाई स्वीकार्य नभएको बताएका हुन् ।
पछिल्लो अवधारणामा एमाले र काँग्रेस सहमतिको निकट रहेको भन्दै प्रस्तावको आलोचनामा समय नखर्चिन सुझाव दिए ।
बडुले संसदलाई समावेशी बनाउन सुधारिएको संसदीय ब्यवस्थाको अवधारणा काग्रेसले ल्याएको दावी गर्दै यसमा शक्ति सन्तुलन हुने विश्वास ब्यक्त गरे । उनले आगामी माघ ८ गते कुनै पनि हालतमा संविधान जारी गर्ने ठोकुवा समेत गरे ।
त्यस्तै पत्रकारहरुको जिज्ञासामा बडुले खुमबहादुर खड्काको हिन्दू राष्ट्र बनाउने अभियानमा काँग्रेसको कुनै पनि समर्थन नरहेको स्पष्ट पारेका छन् । बडुले भने–‘‘मुलुक संघीय गणतन्त्रमा गईसक्यो, अब परिवर्तनको दिशाबाट कोही पनि ब्याक हुनुहुँदैन । नेपाली काँग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा अडिग छ । ’’ उनले संविधानसभाका सहयात्रीहरु धार्मिक स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको समेत प्रष्ट पारेका छन् ।
एकीकृत माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले काग्रेस र एमाले पहिलो संविधानसभाको उपलब्धि र विगतमा भएका सम्झौता विपरित अघि बढे माघ ८ गते कुनै पनि हालतमा संविधान आउन नसक्ने चेतावनी दिए । उनले अहिले शासकीय स्वरुप र राज्यको पुर्नसंरचना प्रक्रिया वा सहमतिबाट टुङग्याउने भन्नेमा मात्र विवाद रहेको बताए ।
प्रदेशको नाम र सिमांकनमा विवाद रहेको स्पष्ट पार्दै रायमाझीले १० प्रदेश आफूहरुको बटमलाईन भएको बताए ।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारिणी, समानुपातिक निर्वाचन प्रणाली कुनै पनि हालतमा नछाड्ने स्पष्ट पार्दै आफूहरु प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आउने देखेर एमाले संसदीय ब्यवस्थामा गएको गुनासो समेत गरेका छन् । उनले राजनीतिक संबाद समितिमा अहिले भईरहेको छलफलको प्रक्रियाबाट सहमति नहुने समेत स्पष्ट पारे ।
एमाओवादीकै अर्का नेता एवम कार्यदलका सदस्य खिमलाल देबकोटाले बाह्र बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता र विभिन्न समयमा भएका सहमति र सम्झौता विपरित गए मुलुकमा संविधान बन्न नसक्ने ठोकुवा गर्दै विगतमा भएका सहमतिकै आधारमा संविधान बनाउनुपर्ने धारणा राखेका छन् ।
उनले काग्रेसको प्रस्ताव विगतका सहमति विपरित भएको भन्दै काग्रेसको प्रस्ताव विकल्प नभएर बटमलाईन भए माघ ८ मा संविधान नबन्ने ठोकुवा गरे ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सानापार्टीहरुको मोर्चा रारा मञ्च काग्रेस एमालेको संघीयता र शासकीय स्वरुपको प्रस्तावको नजिक रहेको भन्दै निर्वाचन प्रणालीमा भने पूर्ण समानुपातिका निर्वाचन प्रणाली हुनु पर्ने धारणा राखेका छन् ।
ढकालले भने–‘‘अन्तरिम संविधानले निर्दिष्ट गरेको मर्म र भावना अनुरुप नै निर्वाचन प्रणाली हुनुपर्छ । त्यसो भएमात्रै सबै जाती, उत्पीडित, महिला, आदिवासी, जनजाती, लिङ् लगायतको प्रतिनिधित्व हुन्छ ।’’
ढकालले आफ्नो दल दीर्घकालिन महत्व राख्ने विषयमा भने जुनसुकै हालतमा सहमती गर्नुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले आन्दोलनबाट स्थापित भएका मुद्धाहरुबाट भने पछि हट्न नहुने बताएका छन् ।