काठमाण्डू, २७ असार– बुटवलमा छाडा सांढे (गोरु) को आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन । बुटवल उपमहानगरपालिका–११, रंगशाला मार्गमा बस्दै आएका ४० वर्षीय शैलेन्द्र बुढाथोकी साँढेको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।
राति करिब ९ बजे घरबाट रोटी लगेर खुवाउने क्रममा एक्कासी साँढेले आक्रमण गर्दा घाइते भएका हुन् । साँढेको आक्रमणबाट बुढाथोकीको छाती, घुँडा, कुहिना र ढाडमा चोट लागेको छ । उनको दायाँ छातीमा गम्भीर चोट लाग्नुका साथै ढाडको पाँचवटा करङको हड्डी भाँचिएको बुढाथोकीले जानकारी दिएका छन ।
बुटवलस्थित मर्सिसिटी अस्पतालमा उपचार गराएका उनलाई बसेको र सुतेको ठाउँबाट उठाउन, बसाल्न र सुताउन तथा शौचालय जान दुई जना सहयोगी चाहिने अवस्था रहेको घाइतेकी आमा शान्ति बुढाथोकीले बताइन् । ‘खाना खाएर बसेका थियौं, बाहिर सांढेहरु भोकले कराएको सुनेपछि रोटी र तरकारी लगेर हातैले खुवाउन थालें, दुई वटा सांढे थिए, एकछिन पछि एउटा साँढेले एक्कासी दाहिने छातीतिर आक्रमण गरेपछि ढलें’, बुढाथोकीले भने, ‘केही बेर बेहोस भएछु, पछि दुई जना महिलाले उद्धार गरेर अस्पताल पुर्याउनुभयो ।’
घटनाबारे आफूले बुटवल उपमहानगरको नेतृत्व र बुटवल ११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्रीलाई जानकारी गराउँदै उपचार खर्चको अपेक्षा गरेपनि बेवास्ता भएको गुनासो गरे । चिकित्सकले कम्तीमा तीन महिना बेड रेस्ट गर्नुपर्ने सुझाव दिएकाले आफूलाई आर्थिकरुपमा पनि ठूलो क्षति पुगेको बताए ।