काठमाण्डू, २७ असार– पूर्व मन्त्री रामेश्वर खनालले देशमा सबै राजनीतिक दलप्रति जनताको निराशा बढ्दै जानु राम्रो संकेत नभएको तर्क गरेका छन ।
आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले अहिले देखिएको अवस्था सामान्य नभएको बताएका छन । उनले भनेका छन,‘जे भइरहेको छ, सबै ठीक भएको छैन ।
उनीहरू खराब थिए, यी पनि खराबै रहेछन्, कुनै पार्टी ठीक छैनन् भन्ने मत बढ्दै जानु कदापि राम्रो होइन ।’ उनले वर्तमान परिस्थितिलाई सुधार्ने प्रमुख जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै सत्तापक्षले जनविश्वास कायम गर्न आवश्यक पहल गर्नुपर्ने पनि बताएका छन । पूर्वअर्थमन्त्री खनालले केही मन्त्रीहरूको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका छन् ।
‘स्थिति सुधार्ने प्राथमिक दायित्व सत्ताकै हो,’ उनले लेखेका छन्, ‘तर, केही मन्त्रीमा विनयशीलता फिटिक्कै देखिएन ।’