काठमाण्डू, २६ असार– संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा सुकुमबासीमाथि गरिएको अन्यायपूर्ण विस्थापनको विरोध र आत्मदाह गरेका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाण्डूको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
काठमाण्डू महानगरपालिकाले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ह्विल लक गरेपछि असन्तुष्ट बनेका नेपालीले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए र उनको उपचारका क्रममा निधन भएको थियो । सोही घटनालाई लिएर विद्यार्थीहरू आन्दोलित भएका हुन् ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले राज्य संयन्त्र गरिब, श्रमजीवी र सुकुम्बासी वर्गप्रति निरङ्कुश र संवेदनहीन बनेको आरोप लगाएका छन् ।
उनीहरूले विना विकल्प सुकुमबासीहरूलाई उनीहरूको बसोबास स्थलबाट बलपूर्वक विस्थापन गर्नु अन्यायपूर्ण भएको बताए । सो क्रममा विद्यार्थी नेताहरूले सरकारले नागरिकको जिउधनको रक्षा गर्नुको साटो जरिवाना र करका नाममा आतङ्कित पारेको भन्दै आक्रोश व्यक्त गरेका छन ।
आन्दोलनकारीहरूले गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।
त्यसैगरी अव्यवहारिक जरिवाना प्रणाली खारेज गर्न र सुकुमबासीहरूको उचित व्यवस्थापन गर्न पनि उनीहरूले सरकारसँग आग्रह समेत गरेका छन ।