काठमाण्डू, २५ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजु पाण्डेले काठमाण्डूको गोकर्णेश्वर क्षेत्रका बासिन्दाले खानेपानी नपाए मेलम्चीको पानी वितरणमा अवरोध गर्ने चेतावनी दिएका छन ।
संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले खानेपानी वितरणमा कर्मचारीहरूको बदमासी र लापरबाही असह्य भएको भन्दै आक्रोश व्यक्त गरेका हुन ।
उनले मेलम्चीको पानी आउने मुख्य क्षेत्रका बासिन्दा नै प्यासी हुनुपर्ने अवस्था आएको भन्दै उनले अब आफू चुप लागेर नबस्ने पनि बताए । सांसद पाण्डेले गोकर्णेश्वरका जनताले पानी नपाए ड्याम नै बन्द गरिदिने र पाइप समेत फुटाइदिने धम्की दिए ।
उनले भने, ‘जनताले खानेपानी नपाउने हो भने त्यहाँको ड्याम हामी बन्द गरिदिन्छौँ, त्यहाँबाट पानी आउन दिँदैनौँ । पाइप रोक्नुपर्ने हो कि फुटाउनुपर्ने हो, त्यो म आफैँ फुटाउनेवाला छु । गोकर्णको पानी गोकर्णकै जनताले खान नपाउने, अनि अन्य भेगमा लैजाने कुरा मलाई स्वीकार्य छैन ।’
पाण्डेले थपे, ‘अस्ति शनिबार जाँदा त्यहाँका बुवाआमाहरू पानी नपाएर रोएको देखेँ । गाग्री बोकेर कति समय पानी खोज्न हिँड्ने रु यो एकदमै संवेदनशील विषय हो ।’ कर्मचारीको कार्यशैलीप्रति कडा प्रहार गर्दै पाण्डेले ‘ब्युरोक्रेसी’ अझै नसुध्रिएको आरोप लगाउनुए ।
उहाँले केयूकेएलका कर्मचारीहरूले मनलाग्दी ढंगले पानी वितरण गर्ने गरेको र त्यहाँ एउटा ‘नेक्सस’ (सञ्जाल) सक्रिय रहेको दाबी गरे । ‘तपाईँहरूको स्टाफको सञ्जाल यस्तो छ कि साध्यै छैन ।
आफ्नो मन लागेको बेला मन लागेको टोलमा पानी खोलिदिने, मन नलागेको ठाउँमा नखोलिदिने,’ उनले भने, ‘म सांसद जस्तो मान्छेले त त्यति हण्डर खानुपर्छ भने सर्वसाधारण जनताको हालत के होला ?’
रास्वपाले ‘रकेट शैली’ मा काम गर्ने बाचा गरेर आएको भए पनि सरकारी संयन्त्र र ब्युरोक्रेसी बाधक बनेको उनको गुनासो थियो । ‘हामी रकेट शैलीमा काम गर्छौँ भनेर यहाँ आएका हौँ, तर कतै केही चेन्ज छैन,’ पाण्डेले भने ।