काठमाण्डू, २५ असार– फिफा रेफ्री प्रमुख पिएरलुइजी कोलिनाले विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले हराएको रोमाञ्चक खेलमा भएको रेफ्रीको निर्णय पूर्वाग्रही नभएको भन्दै बचाउ गरेका छन ।
उनले रेफ्रीहरू पूर्वाग्रही भएको भन्ने अस्विकार गर्दै पूर्ण स्वतन्त्रताका साथ काम गरेको पनि बताएका छन । बिहीबार फिफाको वेबसाइटमा प्रकाशित एक अन्तर्वार्तामा कोलिनाले रेफ्रीहरूको आलोचना हुनु फुटबलको एउटा हिस्सा भएको बताए ।
तर खेलमा पराजित भएपछि इजिप्टले खेल अधिकारीहरूको इमानदारितामाथि उठाएको प्रश्नको भने उनले भत्र्सना गरे । ‘थोरै समयभित्र धेरै संख्यामा खेलहरू खेलाइँदा केही कुराहरू सोचेजस्तो नहुनु सामान्य हो,’ कोलिनाले भने, ‘जब त्यसो हुन्छ । रेफ्रीहरू अर्को खेलको लागि पूर्ण रूपमा तयार हुन अझ बढी मेहनत गर्न तयार रहन्छन् ।’
कोलिनाले यस्ता आरोपहरूले रेफ्री र उनीहरूका परिवारविरुद्ध धम्कीहरू निम्त्याउन सक्ने बताए । उनले भने, ‘निश्चय पनि निर्णयहरूको बारेमा रचनात्मक छलफल सधैं फुटबलको हिस्सा रहनेछ, तर आधारहीन आरोपहरूको हाम्रो खेलमा कुनै स्थान छैन ।’
उनले थपे, ‘फिफा विश्वकपका खेल अधिकारीहरूको इमानदारितामाथि कसैले प्रश्न उठाउन सक्दैन । त्यसैगरी, फिफाको रेफ्री निर्णयलाई कसैले प्रभाव पार्न सक्छ भन्नु पनि गलत हो, यहाँसम्म कि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि यसलाई प्रभाव पार्न सक्नुहुन्न ।
खेल अधिकारीहरूले इमानदार निर्णयहरू लिन्छन् । खेलाडी र प्रशिक्षकहरू जस्तै उनीहरूले पनि सधैं आफ्नो उत्कृष्ट दिने प्रयास गर्छन् ।’