काठमाण्डू, २४ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संसद्मा फेरि प्ले कार्ड देखाएका छन । विगतमा पनि उनले विभिन्न माग राख्दा प्ले कार्ड देखाउँदै आएका छन ।
आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । त्यसक्रमा साम्पाङले भने हातमा प्ले काड लिएर देखाएका हुन् । संसद् बैठक बस्दा हरेक दिन विपक्षीले विरोध गर्दै आएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का सीमा विवादबारेको अभिव्यक्तिलाई लिएर विपक्षीले विरोध गर्दै आएका हुन् ।
गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।