एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्बन्धी समझदारीपत्र (एमओयू) अब समाप्त भएको आफूलाई विश्वास लागेको बताएका छन् ।
आज (बुधबार) नाटो शिखर सम्मेलनका क्रममा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन । ‘उनीहरूसँग वार्ता गर्नु समयको बर्बादी हो,’ ट्रम्पले भने ।
यसअघि इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले इरानमाथि गरेको आक्रमणको जवाफस्वरूप बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको थियो । त्यसलगत्तै ट्रम्पको यो प्रतिक्रिया आएको हो ।
टर्कीमा आयोजित नाटो शिखर सम्मेलनमा बोल्दै ट्रम्पले इरानमाथि स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूलाई निसाना बनाएर युद्धविराम उल्लंघन गरेको आरोप लगाए । उनले इरानलाई ‘धोकेबाज खेलाडी’ भन्दै कडा आलोचनासमेत गरे ।
खट्रम्पले अमेरिका अब इरानसँग कूटनीतिक वार्तामा अल्झिनुभन्दा आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताए । उनले इरानलाई ‘दुष्ट र विकृत सोच भएका मानिसहरूको शासन’ भन्दै आलोचना समेत गरेका छन । ‘हामीले त्यो क्यान्सर हटाउनुपर्छ ।
क्यान्सरलाई सुरुमै काटेर हटाउनुपर्छ, र मेरो धारणा पनि त्यही हो,’ ट्रम्पले भने । ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई वासिङ्टन र तेहरानबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको संकेतका रूपमा हेरिएको छ । साथै, इरानसँगको सम्भावित कूटनीतिक सहमति अब लगभग विफल भएको आकलन पनि गरिएको छ ।