युरोपेली संघको हवाई सुरक्षासूचीबाट नेपाललाई हटाउन रास्वपा सांसद अधिकारीको माग

काठमाण्डु टुडे २०८३ असार २४ गते १४:४० मा प्रकाशित

काठमाण्डू, २४ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद लिमा अधिकारीले नेपाललाई युरोपेली संघको (ईयू) को हवाई सुरक्षा सूचीबाट हटाउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सरकारसँग माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल सन् २०१३ देखि युरोपेली संघको हवाई सुरक्षा सूचीमा निरन्तर रहँदै आएको र सन् २०२६ सम्म पनि नेपाली राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनीहरूले युरोपेली मुलुकमा उडान सञ्चालन गर्न नपाएको उल्लेख गरिन् ।

यसले नेपालको पर्यटन, वैदेशिक लगानी तथा समग्र आर्थिक विकासमा प्रतिकूल असर परेको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय स्तरमा नेपालको हवाई सुरक्षासम्बन्धी नकारात्मक छविका कारण देशको विश्वसनीयतामै प्रश्न उठ्ने अवस्था सिर्जना भएको उनले बताइन् ।

नेपालले पछिल्ला वर्षहरूमा हवाई सुरक्षा सुधारका लागि कानुनी, नीतिगत तथा संस्थागत तहमा विभिन्न सुधारका प्रयास गरेको भए पनि त्यसको अपेक्षित सकारात्मक परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अधिकारीले अब यो विषयलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइन् ।

उनले युरोपेली संघसँग उच्चस्तरीय कूटनीतिक पहल अघि बढाउँदै आवश्यक प्राविधिक प्रतिवेदन पेश गर्न सरकारसँग आग्रह गरिन् ।

साथै, नेपाल नागरिक उड्डयन प्राधिकरणको संस्थागत तथा नीतिगत सुधारलाई प्रभावकारी बनाउनुका साथै हवाई सुरक्षा मापदण्डलाई अन्तर्राष्ट्रिय स्तरअनुसार सुदृढ गर्न आधुनिक प्रविधि र दक्ष जनशक्ति व्यवस्थापनमा विशेष जोड दिनुपर्ने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us