भुटानी शरणार्थी प्रकरण: बादल र टोपबहादुरका छोराविरुद्धको आरोप पुष्टि भएन

काठमाण्डु टुडे २०८३ असार २३ गते २२:४२ मा प्रकाशित

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आरोपबाट सफाइ दिएको छ ।

उनीहरूसहित सात जना अभियुक्तलाई अदालतले निर्दोष ठहर गरेको हो ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सुनाएको फैसलाअनुसार प्रतीक र सन्दीपविरुद्ध दायर अभियोग पुष्टि हुन नसकेपछि सफाइ दिइएको हो ।

उनीहरूसँगै रामशरण केसी, टंककुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी पनि आरोपबाट मुक्त भएका छन् ।

यही प्रकरणमा अदालतले एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ ।

फैसलाअनुसार रायमाझी राज्यविरुद्धको कसुर, ठगी तथा संगठित अपराधमा दोषी ठहर भएका छन् भने खाँणलाई ती कसुरमा मतियार ठहर गरिएको छ ।

पूर्वगृहसचिव पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको अदालतको फैसलामा उल्लेख छ ।

यस्तै, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल तथा यस प्रकरणका मुख्य योजनाकारका रूपमा अभियोग लागेका सानु भण्डारी र केशव दुलाल पनि विभिन्न कसुरमा दोषी ठहर भएका छन् ।

अदालतले दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि असार २९ गते पेसी तोकेको छ ।

सरकारी वकिलको कार्यालयले २०८० जेठ १० गते ३० जनाविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको अपराध, संगठित अपराध तथा एकीकृत कसुरमा सजायको माग गर्दै मुद्दा दायर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us