काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाउँदै दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्न आदेश दिएको हो ।
जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार ३० प्रतिवादीविरुद्ध दायर गरिएको मुद्दामध्ये सात जनाले भने सफाइ पाएका छन् ।
अदालतको फैसलाअनुसार रायमाझीलाई राज्यविरुद्धको कसुर, ठगी तथा संगठित अपराधमा दोषी ठहर गरिएको छ ।
खाँणलाई ती कसुरमा मतियार ठहर गरिएको छ भने पूर्वगृहसचिव पाण्डेलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको छ ।
त्यस्तै, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई सरकारी लिखत किर्ते, ठगी तथा संगठित अपराधमा मतियार बनेको र राज्यविरुद्धको कसुरमा समेत मतियार बनेको ठहर गर्दै अदालतले दोषी ठहर गरेको छ ।
यसैगरी, प्रकरणका मुख्य योजनाकारका रूपमा अभियोग लागेका सानु भण्डारी र केशव दुलाललाई सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको छ ।
फैसलाअनुसार रामशरण केसी, टंककुमार गुरुङ, सञ्जीव रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले भने सफाइ पाएका छन् ।
सरकारी वकिलको कार्यालयले २०८० जेठ १० गते रायमाझी, खाँण, पाण्डेलगायत ३० जनाविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको अपराध तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।
लामो न्यायिक सुनुवाइपछि जिल्ला अदालतले मंगलबार दोषी र निर्दोषको टुंगो लगाएको हो ।
दोषी ठहर भएका प्रतिवादीहरूको सजाय भने अदालतले आगामी सुनुवाइमार्फत निर्धारण गर्नेछ ।