काठमाण्डु– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त चारवटा विधेयकलाई दफावार अध्ययन तथा छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेकी थिइन् ।
यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक अर्थमन्त्री डा. स्वर्णीम वाग्ले, सहकारीसम्बन्धी विधेयक भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बैठकमा पेश गरेका थिए ।
राष्ट्रियसभाको स्वीकृतिसँगै अब यी चारै विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि जानेछन्। समितिको प्रतिवेदन प्राप्त भएपछि विधेयकहरू राष्ट्रियसभामा पुनः निर्णयका लागि प्रस्तुत गरिने संसदीय प्रक्रिया छ ।