पूर्णबहादुर ब्रिफिङः वरिष्ठ नेता बनाउने विश्वको प्रस्ताव अस्वीकार गरेँ

काठमाण्डु टुडे २०८३ असार २२ गते १६:२३ मा प्रकाशित

काठमाण्डू, २२ असार– कांग्रेसको इतर समूहका नेताहरूको बैठकमा नेता पूर्णबहादुर खड्काले पार्टीभित्रको पछिल्लो संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिमा समायोजनका विषयमा विस्तृत जानकारी गराएका छन ।

बैठकमा खड्काले आफूहरू अहिले डा. शेखर कोइरालासहित १११ जना रहेको र ती सबैलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न प्रस्ताव गरिएको जानकारी गराए । सातबुँदे प्रस्तावको लिखित जवाफ आफूले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाइसकेको पनि बताएका छन ।

उक्त दिन सुरुमा शर्माले लिखित रूपमा दिन आग्रह गरेपछि आफूले ‘जसरी हामीलाई व्हाट्सएपमा पठाउनुभएको थियो, त्यसैगरी टाइप गर्नुस्’ भनेको र त्यसपछि टाइप गरिएको जवाफ पढेर सुनाएको उनले बताएका छन । बैठकमा खड्काले भने, ‘उहाँले यही नै अन्तिम हो दाइ भन्नुभयो। मैले पनि हो भनेँ ।’

खड्काका अनुसार त्यसपछि विश्वप्रकाश शर्माले महामन्त्री गगन थापालाई सबै कुरा सुनाउने र आफूलाई पनि इतर समूहका नेताहरूलाई जानकारी गराउन आग्रह गरेका थिए । साथै गगन थापासँग प्रत्यक्ष छलफल गर्न पनि सुझाव दिएका थिए ।

उनले बैठकमा गेटबाट बाहिरिने क्रममा विश्वप्रकाश शर्माले ‘हाम्रो एउटा सहमति भइसकेको छ, तपाईं र शेखर दाइलाई वरिष्ठ नेता बनाउने’ भनेको तर आफूले उक्त प्रस्ताव अस्वीकार गरेको बताए । खड्काले त्यसपछि अर्को दिन बिहान ९ बजेसम्म कुनै औपचारिक जानकारी नआएको बताए ।

केही समयपछि महामन्त्री प्रदीप पौडेललाई उद्धृत गर्दै ‘शीर्ष नेताको सदस्यता स्वतः अद्यावधिक हुने’ भन्ने समाचार सार्वजनिक भएको उल्लेख गरे । उनका अनुसार उक्त समाचार सार्वजनिक भएपछि देशभरबाट आफूलाई फोन आएको बताए। ‘आफ्नो सदस्यता अद्यावधिक हुने, हाम्रो नहुने भन्ने गुनासो आयो ।

त्यसपछि मैले सामाजिक सञ्जालमार्फत समाचारको खण्डन गरेँ र त्यसपछि फोन आउन बन्द भयो,’ उनले भने । खड्काले त्यसपछि पनि विश्वप्रकाश शर्माले संवाद भइरहेका बेला संवाद नभएको भनिएको भन्दै आपत्ति जनाएको जानकारी दिए। त्यसलगत्तै ‘अनलाइनखबर’ मा स्रोतलाई उद्धृत गर्दै विश्वप्रकाश शर्माले पाँच जना नेतालाई सातबुँदे प्रस्ताव पठाएको समाचार प्रकाशित भएको उनले उल्लेख गरे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us