काठमाण्डू, २२ असार– पोर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आलोचकहरूमाथि खनिएका छन । स्पेनविरुद्धको राउन्ड अफ १६ को म्याचअघि पत्रकार सम्मेलनमा उनी कडा रूपमा प्रस्तुत भएका हुन ।
पत्रकारको मुख्य चासो रोनाल्डोको खेलभन्दा पनि सन्न्यासप्रति रहेको थियो । रोनाल्डोलाई पनि थाहा थियो, यो प्रश्न आउने छ । पत्रकार सम्मेलनमा सन्न्यासको विषयले निकै प्राथमिकता पायो, तर रोनाल्डोले यो निर्णय आफ्नै सर्तमा हुने स्पष्ट पारे । उनले भने, ‘म जति सक्दो इन्जोइ गर्न चाहन्छु किनकी यो मेरो अन्तिम विश्वकप हो ।
म टोलीको लक्ष्य प्राप्तिका लागि जहिले पनि आफ्नो तन–मन लगाउँछु, मैदानमा खेलूँ वा नखेलूँ, मेरो भूमिका सधैँ महत्त्वपूर्ण हुनेछ । मैले अघि पनि भनेको छु, म तब सन्न्यास लिन्छु जब म चाहन्छु ।
तपाईंहरूले चाहेको बेला होइन । तपाईंहरू सधैँ एउटै प्रश्न सोध्नुहुन्छ । म यसतर्फ ध्यान आकर्षित गर्न चाहन्न किनभने यो कम महत्त्वपूर्ण कुरा हो ।’ उनले यही विश्वकप आफ्नो अन्तिम हुने त बताए, तर सन्न्यासको मिति बताएनन् । सन्न्यास आलोचकहरुको शर्तमा होइन आफ्नो शर्तमा हुने उनको भनाइ थियो ।
रोनाल्डोले आफू पहिलेको जस्तो खेलाडी नरहेको स्वीकार गरे । यद्यपि विश्वकपमा आफूले नराम्रो नखेलेको उनको जिकिर छ । पोर्चुगिज कप्तानले आफू अझै समाप्त भइनसकेको तुरुन्तै स्मरण गराए ।
‘मैले त्यति खराब पनि गरिरहेको छैन,’ यस विश्वकपमा आफूले गरेका तीन गोलतर्फ संकेत गर्दै उनले भने । रोनाल्डोले आफूलाई बारम्बार असफल घोषणा गर्नेहरूका लागि कडा शब्दहरू प्रयोग गरे ।
उनले भने, ‘तपाईंहरू विगत २३ वर्षदेखि मलाई ‘मार्ने’ कोसिस गरिरहनुभएको छ, तर यो प्रयासको कुनै अर्थ छैन भन्ने तपाईंहरूले देखिसक्नुभयो होला । यो केवल समयको बर्बादी हो । तर तपाईंहरू बारम्बार कोसिस गरिरहनुहुन्छ ।’