हालान्डको दुई गोलमा नर्वे क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो

काठमाण्डु टुडे २०८३ असार २२ गते ८:३२ मा प्रकाशित

काठमाण्डू, २२ असार– जारी फिफा विश्वकप फुटबल अन्तर्गत एर्लिङ हालान्डको दुई गोलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दे नर्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ ।

ब्राजिल यसअघि सन् १९९० मा अन्तिम १६ बाटै बाहिरिएको थियो । नर्वेले ब्राजिललाई विश्वकपमा दोस्रो पटक पराजित गरेको हो । यसअघि पछिल्लो पटक १९९८ मा विश्वकप खेलेको नर्वेले ब्राजिललाई २–१ ले नै पराजित गरेको थियो ।

अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा हालान्डले दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए । उनले ७९ औं मिनेटमा पहिलो गोल गरेका थिए । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् ।

हालान्डले ९०औं मिनेटमा गोल गर्दै नर्वेलाई २–० को अग्रता दिलाए । हालान्डले हेड गोल गर्दै अग्रता दोब्बर पारेका थिए । दोस्रो गोलका लागि पनि आन्द्रेस सेलड्रुपले नै असिस्ट गरे । ब्राजिलका लागि नेमनारले इन्जुरी टाइमको नवौँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।त्यसअघि ब्राजिलले पहिलो हाफमा पनि पेनाल्टी पाउँदा गोल गर्न चुकेको थियो ।

पेनाल्टी गुमाउँदा अग्रता लिने अवसर गुमाएको थियो । ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी मिस गरेका थिए । खेलको १४ औं मिनेटमा ब्रुनोको पेनाल्टी प्रहार नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले बचाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us