खामेनी हत्याको बदला अवश्य लिनेछौंः इरान

काठमाण्डु टुडे २०८३ असार १८ गते ११:४२ मा प्रकाशित

 एजेन्सी– इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ ।

सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रद्वारा जारी सन्देशमा खामेनीको हत्याको बदला लिने घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

इरानी मिडियाले मोहम्मद बाकरद्वारा हस्ताक्षरित सन्देश प्रकाशित गरेको बीबीसीले जानकारी दिएको छ । बीबीसीका अनुसार सन्देशमा खामेनीको हत्याको बदला हत्यारहरूसँग अवश्य नै लिइने उल्लेख छ ।

मोहम्मद बाकरको उक्त सन्देश सोशल मिडिया प्लेटफर्म ‘एक्स’द्वारा जारी गरिएको छ । इरानका सर्वोच्च नेता खामेनीको २८ फेबुअरी २०२६ मा अमेरिकी आक्रमणमा परी मृत्यु भएको थियो ।

उक्त आक्रमण इरानमाथि अमेरिकी र इजरायलको पहिलो आक्रमण थियो । उक्त आक्रमणमा कयौं अन्य महत्वपूर्ण इरानी अधिकारीहरूका साथ–साथै उनको परिवारका केही सदस्य पनि मृत्यु भएको थियो ।

खामेनीको अन्तिम संस्कार समारोह ४ देखि ८ जुलाईसम्म तेहरान, कोम र मशहदमा गरिने बीबीसीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us