काठमाण्डू, १८ असार– सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो गाडी कर्णाली नदीमा खसेको छ । दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ अन्तर्गत साङ्गेतरास्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।
गाडी चालक सुर्खेत पञ्चपुरी नगरपालिका ८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी रहेका छन् । गाडीमा चालकसहित पाँच जना सवार रहेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ। घटनास्थलबाट एक जना पुरुषलाई फेला पारी सडकतर्फ ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।