भदौ २६ गते नारायणहिटी सफा गर्न लगाएको रहेछः प्रचण्ड

काठमाण्डु टुडे २०८३ असार १८ गते १४:०३ मा प्रकाशित

काठमाण्डू, १८ असार– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको भौगोलिक अखण्डता माथि प्रहार भइरहेको बताएका छन । पोखरामा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै मुलुकले सुगौली सन्धि यता ठूलो चुनौती सामना गर्नुपरेको प्रचण्डले बताए ।

संयोजक प्रचण्डले भने, ‘राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता नेपाली जनताको, भौगोलिक अखण्डता नेपालको निकै नै चुनौतीपूर्ण छ । जनताको वर्ग, श्रमजीवीमाथि प्रहार भएको छ। सुकुम्वासी, ट्रेड युनियन, सीमाको विषय छन् । मधेशको नाममा भोट लिएर मधेसको छातीमा प्रहार गर्ने काम भइराखेको छ ।’

उनले राष्ट्र र जनता माथि प्रहार भइरहेको बताए । उनले गएको भदौ २३ र २४ को घटना प्रतिक्रान्तिकारी परिघटना भएको बताए । निर्वाचनको समीक्षा गर्दा २४ गतेको घटना प्रतिक्रान्तिकै निरन्तरताको रूपमा नै अगाडि आएको पनि बताएका छन ।

उनले थपे, ‘त्यसबेला हामीले निर्वाचनमा जानुको विकल्प त्यतिबेला देखेनौँ । फेरि अर्को दुर्घटना तुरुन्तै हुने हो कि भन्ने सन्त्रास देशभरि थियो । २४ देखि २६ भित्रको कुरा अर्को ठूलो दुर्घटना चर्चा परिचर्चा धेरै थिए । तपाईँहरूले पनि सुन्नुभयो होला नारायणहिटी सफा हुँदैछ, अब केही घण्टापछि अर्कै युगमा प्रवेश हुँदै छ भन्ने कुरा ।

पछि हामीले बुझ्दा सफा त गर्न लगाएकै रहेछन् ।’ उनले देश एउटा असाधारण परिस्थितिबाट गुज्रेको बताए । देशलाई अर्को ठूलो दुर्घटनाबाट जोगाउनको लागि राष्ट्रपति, प्रधान सेनापतिलगायतको कुरा सुनेपछि चुनाव निष्कर्षमा पुगेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us