विद्यार्थी आन्दोलनको दबाबपछि सर्बियाका राष्ट्रपतिले गरे राजीनामा घोषणा

काठमाण्डु टुडे २०८३ असार १५ गते १४:४५ मा प्रकाशित

एजेन्सी– सर्बियामा विगत डेढ वर्षदेखि जारी विद्यार्थी नेतृत्वको सरकार विरोधी आन्दोलनको तीव्र दबाबपछि राष्ट्रपति आलेक्सान्दार भुचिचले आगामी केही हप्ताभित्रै आफ्नो पदबाट राजीनामा दिने बताएका छन । राजधानी बेलग्रेडमा आयोजित सरकारी पक्षको एक ठूलो र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति भुचिचले आफू अब केही हप्ता मात्र राष्ट्रपति पदमा रहने र त्यसपछि राजीनामा दिएर देशलाई मध्यावधि राष्ट्रपतीय तथा संसदीय निर्वाचनतर्फ लैजाने बताएका हुन् ।

सन् २०२४ को नोभेम्बरमा देशको उत्तरी सहर नोभी सादमा एउटा रेलवे स्टेसनको क्यानोपी भत्किँदा १६ जनाको मृत्यु भएपछि सर्बियामा लगातार सरकार विरोधी प्रदर्शनहरू हुँदै आएका छन् ।

आन्दोलनकारी विद्यार्थी, विपक्षी दल र नागरिक समाजले उक्त दुर्घटनालाई सरकारी निकायको चरम लापरबाही, कमजोर निर्माण व्यवस्थापन र प्रणालीगत भ्रष्टाचारको प्रतीकका रूपमा लिँदै आएका छन् ।

यसअघि प्रदर्शनकारीहरूलाई ‘विदेशी एजेन्ट’ को संज्ञा दिँदै सन् २०२७ मा आफ्नो कार्यकाल सकिनुअघि निर्वाचन गराउन अस्वीकार गर्दै आएका भुचिच अन्ततः आन्दोलनको बढ्दो दबाबका कारण पछि हट्न बाध्य भएका हुन् ।

सर्बियाको निर्वाचन कानुन अनुसार, दोस्रो कार्यकालको अन्त्यतिर रहेका भुचिचले पुनः राष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन् । यद्यपि, राजनीतिक विश्लेषकहरूका अनुसार भुचिचको यो राजीनामा राजनीतिबाट सन्यास लिनका लागि नभएर सत्ताको नयाँ रणनीति मात्र हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us