राष्ट्रिय सभाको त्यो दृश्यः एकताको रटान, तर नेताहरुले छाडेनन् अडान

काठमाण्डु टुडे २०८३ असार १५ गते १३:४९ मा प्रकाशित

काठमाण्डू, १५ असार– नेपाली राजनीतिमा हिजो (आइतबार) लामो समयपछि एकले अर्काको मुख हेर्न नचाहने कम्युनिस्ट शीर्ष नेताहरू एउटै मञ्चमा उभिए ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि थिइन्, पूर्वराष्ट्रपति विद्या भण्डारी। उनै भण्डारीकै नेतृत्वमा कम्युनिस्ट एकता गर्ने बहस चलिरहेको छ। आजको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहभागी रहेका थिए ।

गत २१ फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचनमा धक्का खाएका कम्युनिस्ट सहकार्यको लागि मदन भण्डारी फाउण्डेशन साझा मञ्च बनेको छ । राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनीहरूले मिल्नुपर्ने मत राखे । तर व्यवहार देखाएनन् । आआफ्नो अडान सुनाए ।

कार्यक्रमको सुरुमा बोलका नेता खनालले आजैको दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने प्रस्ताव राखे । खनालले भने, ‘वामपन्थी एकता आज मात्र होइन, अनेक कालखण्डदेखि आवश्यक थियो तर बिचमा हाम्रो कहिले सिङ पलायो कहिले जुरो पलायो। बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ ।’

उनले वामपन्थी एकता आजको आवश्यकता भएको बताए । तर उनीलगत्तै बोलेका नेकपाका सहसंयोजक माधव नेपालले भावनाको कुरा गरेर मात्रै कम्युनिस्ट एकता नहुने तर्क राखे । कम्युनिस्ट आन्दोलनभित्र देखिएको समस्याको गम्भीर आत्मसमीक्षा गर्न आवश्यक रहेको सुनाए ।

उनले भने, ‘हामीले विगतको विसङ्गतिको आत्मसमीक्षा गर्नुपर्छ । यो एउटा पार्टीको निम्ति मात्रै होइन, नेपालका जति पनि कम्युनिस्ट घटकहरू छन्, ती सबैले आआफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ । त्यो आत्ममन्थन गरेर सही निष्कर्षमा पुग्न सक्यौँ भने बल्ल कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ । नभए भावनाको कुरा गरेर मात्र हुँदैन ।’

उनी त्यतिमा मात्रै रोकिएनन् आजभोलि नै कम्युनिस्ट पार्टीहरू मिल्ने सम्भावना नदेखेको प्रस्ट सन्देश दिए । यद्यपि, कम्युनिस्टहरूबीच सहकार्य गर्दै एकता गर्नुपर्नेमा मत राखे। उनले थपे, ‘मिल्ने कुरा मात्र ठुलो होइन, भावनामा मिल्नुपर्छ । विधि पद्धतिमा मिल्नुपर्छ ।

कम्युनिस्टहरू आजै मिले, भोलि मिले भन्दा मेरो पनि दिमाग खराब भएको छ’। तर नेपालपछि बोलेका नेकपाका संयोजक प्रचण्डले पनि कम्युनिस्टहरुबीच तत्कालै सहकार्य थालिहाल्नुपर्नेमा जोड दिए । सहकार्यमा ढिलाइ गरेको खण्डमा देशमा भयानक दुर्घटना हुने उनले चेतावनी दिए ।

उनले भने, ‘नेपालमा कम्युनिस्ट आन्दोलनलाई के गरी सिद्ध्याउने भन्ने प्रयास भइरहेको छ। भारतमा कम्युनिस्ट सिद्ध्याइयो भनेर घोषणा गरेको सुनेका छौँ। नेपालमा पनि के गरी सिद्ध्याउन सकिन्छ भनेर प्रतिक्रियावादी लागिरहेका छन्। त्यसैले छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ। ढिला गर्नुहुँदैन। नत्र भयानक दुर्घटना हुन्छ।’ आफूले आजै, अहिल्यै कम्युनिस्टहरूबीच एकताको कुरा नगरेको बताए ।

उनले थपे, म विल्कुल हतारिएको छैन । हुन त मलाई मानिसहरूले विभिन्न कोणबाट हेर्दै विभिन्न चित्र बन्ने गरेको छ। मैले क्रमभङ्ग भन्यो भने के उत्पात गर्न थाल्यो भन्छन्। यो त प्रकृति, समाज र मानव समाजको नियम हो, निरन्तरतामा क्रमभङ्ग। मैले त्यही भन्ने गर्छु। क्रमभङ्ग गरिराख्नुपर्ने हुन्छ ।’ नेकपाका तीन नेता बोलेपछि आफ्नो कुरा राखेका ओलीले एकताको लागि एमालेको नीति स्वीकार्नुपर्ने प्रस्ट जवाफ दिए ।

एकताको लागि पार्टीको नीतिबारे छलफल गर्ने पक्षमा आफू नरहेको उनले बताए । ओलीले भने, ‘हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन। हामीले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक अनेक पक्षमा सही नीति निर्धारण गरेका छौँ ।’

उनले प्रतिगमनलाई रोक्नका निम्ति सबै वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर अघि बढ्नुपर्ने बताए । उनले थपे, ‘हामी मरेका छैनौँ, फेरि उठ्छौँ र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौँ। धुलो टकटक्याउँदै उठ्छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us