मदन भण्डारी राष्ट्रिय पुरस्कार: २०८२ रमेश रुछेनलाई प्रदान

काठमाण्डु टुडे २०८३ असार १४ गते १४:५० मा प्रकाशित

काठमाण्डू, १४ असार– मदन भण्डारी फाउण्डेशनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरीएको छ । आज (आइतबार) काठमाण्डूको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो ।

फाउण्डेशनले जननेता मदनकुमार भण्डारीको व्यक्तित्व, विचार, राजनीतिक योगदान तथा उहाँसँग सम्बन्धित अध्ययन, अनुसन्धान, प्रकाशन र वैचारिक बहसलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

फाउण्डेशनका अनुसार जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा अध्ययन, अनुसन्धान, संस्मरण लेखन तथा पुस्तक प्रकाशनमार्फत उनको व्यक्तित्व, विचार, राजनीतिक जीवन र योगदानलाई दस्तावेजीकरण तथा प्रचार–प्रसारमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने नीति छ ।

यसका लागि तीन सदस्यीय छनोट समितिको सिफारिसका आधारमा राईको कृति छनोट गरिएको हो । इलामको सूर्योदय नगरपालिका–११, केराबारीका स्थायी बासिन्दा राई लामो समयदेखि नेपाली राजनीति, विकास तथा समसामयिक विषयमा स्वतन्त्र अध्येता एवं अनुसन्धानकर्ताका रूपमा सक्रिय छन् । पुरस्कारस्वरूप राईलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us