काठमाण्डू, १४ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने बताए । पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक वर्षबाट हुने उनको भनाइ थियो ।
सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट वाग्लेको प्रष्टोक्ति छ । सरकारले अर्थतन्त्र सुधारका लागि महत्वकांक्षी बजेट ल्याएकाले आगामी वर्षदेखि त्यसको सकारात्मक असर देखिने भन्दै अर्थमन्त्री वाग्लेले भ्याटको बहुदरका विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिने र त्यसको सिफारिसका आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्ने उनले बताए ।