काठमाडौं- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
नेपाली फुटबल इतिहासमा फिफाबाट प्रतिबन्ध भोग्नुपरेको यो पहिलो घटना हो ।
फिफाले बिहीबार आफ्नो वेबसाइटमार्फत ब्युरो अफ द काउन्सिलको निर्णय सार्वजनिक गर्दै तेस्रो पक्षको हस्तक्षेप (थर्ड पार्टी इन्टरफेरेन्स) का कारण नेपाललाई निलम्बन गरिएको जनाएको छ ।
यससँगै नेपाली फुटबल अन्योल र अनिश्चितताको अवस्थामा पुगेको छ ।
यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गरेको थियो। यद्यपि उक्त निर्णय पछि फुकुवा गरिएको थियो ।
एन्फाले प्रस्ताव गरेको निर्वाचनलाई परिषद्ले मान्यता नदिएपछि चुनाव स्थगित भएको थियो ।
यता, पंकज नेम्वाङ नेतृत्वको वर्तमान एन्फा कार्यसमितिको कार्यकालसमेत सकिएको अवस्थामा प्रशासनिक र नेतृत्वगत विवाद चुलिँदै गएको थियो ।
यही पृष्ठभूमिमा फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।