काठमाडौं– नेकपा (एमाले) ले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई सरकारको अधिनायकवादी चरित्रको पराकाष्ठा र राजनीतिक प्रतिशोधको श्रृंखलाबद्ध अभियानको निरन्तरता भएको ठहर गर्दै त्यसविरुद्ध देशभक्त, न्यायप्रेमी तथा लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भएर प्रतिवाद गर्न आह्वान गरेको छ ।
पार्टीका सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका पौडेललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएपछि एमालेले सरकारको कदमलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित र लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धको हर्कतका रूपमा व्याख्या गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले सोमबार जारी गरेको प्रेस वक्तव्यमा सरकार स्वेच्छाचारिता, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ तीव्र रूपमा उन्मुख भइरहेको आरोप लगाउँदै त्यसका विरुद्ध संगठित प्रतिरोध आवश्यक भएको बताएका छन् ।
‘सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न हामी सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान गर्दछौँ,’ वक्तव्यमा उल्लेख छ ।
एमालेले उपाध्यक्ष पौडेललाई गैरकानुनी ढंगले ‘अपहरण शैलीमा’ पक्राउ गरिएको दाबी गर्दै उक्त कदमको घोर निन्दा र भर्त्सना गरेको छ ।
अध्यक्ष ओलीले यो घटना आफू र नेकपा (एमाले) माथि निरन्तर भइरहेका राजनीतिक प्रहार तथा षड्यन्त्रको अर्को कडी भएको बताएका छन् ।
विपक्षी दल र तिनका नेताहरूलाई लक्षित गर्दै गरिएका यस्ता अराजनीतिक तथा प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न एमालेले सरकारलाई चेतावनी समेत दिएको छ ।
वक्तव्यमा सुर्खेतको कार्यक्रम सम्पन्न गरेर पौडेल भोलिपल्ट नै काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेको उल्लेख गर्दै सरकारले सामान्य कानुनी प्रक्रिया र मर्यादाको समेत धज्जी उडाएको आरोप लगाइएको छ ।
सोधपुछ आवश्यक भए जुनसुकै बेला उपस्थित हुन सक्ने वा व्यक्तिको उपस्थितिमै प्रक्रिया अगाडि बढाउन सकिने अवस्था हुँदाहुँदै नियतवश गिरफ्तारीको बाटो रोजिएको एमालेको दाबी छ ।
‘सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सधैँ सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ,’ वक्तव्यमा भनिएको छ ।
एमालेले आफू विधिको शासन र सुशासनको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै सत्ताको उन्मादमा गरिएका यस्ता अधिनायकवादी कदमको डटेर सामना गर्ने चेतावनी दिएको छ ।
विपक्षी दलका नेतामाथि लक्षित निकृष्ट हर्कतहरूले लोकतन्त्रलाई कमजोर बनाउने दाबी गर्दै पार्टीले सरकारको कदमलाई राजनीतिक षड्यन्त्रको उपजका रूपमा चित्रण गरेको छ ।
उपाध्यक्ष पौडेललाई सोमबार दिउँसो सुर्खेतस्थित होटल शुभमबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
उनलाई नेपालगञ्ज लगिएको छ भने मंगलबार बिहान हवाई मार्गमार्फत काठमाडौं ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पौडेलको भैँसेपाटीस्थित निवासमा छापा मारेर केही कागजातसमेत नियन्त्रणमा लिएको थियो ।