रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछः सस्मित पोखरेल

काठमाण्डु टुडे २०८३ असार ८ गते १७:१५ मा प्रकाशित

काठमाण्डू, ८ असार– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबिच आपसमा अत्यन्त राम्रो ट्रस्ट रहेको बताएका छन ।

चितवनको भरतपुरस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले पार्टीमा रवि बालेन पक्ष भन्ने केही नरहेको समेत बताएका छन ।

‘रवि–बालेन पक्ष भन्ने केही पनि छैन हाम्रो पार्टीमा । जे हुन्छ लोकतान्त्रिक प्रक्रियाबाट हुन्छ’, उनले भने, ‘यदि बाहिर कुरा नमिलेको भए स्टेजमा पनि कुरा मिल्दैन ।

स्टेजमा मिलेर हामी नाटक मञ्चन गरेको त होइन ।’ उनले स्टेजमा जे भयो, बाहिर पनि त्यही भइरहेको भन्दै दुवै नेता महाधिवेशनमा कुनै पनि त्रुटि नहोस् भन्ने पक्षमा रहेको दाबी गरे ।

‘सभापति र प्रधानमन्त्री पहिलो पटक ऐतिहासिक रूपमा भइरहेको महाधिवेशनमा कुनै पनि त्रुटि नहोस् भन्ने पक्षमा हुनुहुन्छ’, पोखरेलले भने, ‘हाम्रो पार्टीमा के कुरा स्पष्ट छ भने सभापति पनि एक जना ।

नत्र हामीले सभापति पनि दुई जना बनाउँथ्यौ होला ।’ उनले प्रधानमन्त्री पनि एक जनाले पाँचै वर्ष चलाउने कुरामा कुनै दुबिधा नभएको भन्दै त्यसमा सभापतिले प्रधानमन्त्रीजीलाई ट्रस्ट गरेको र सभापतिलाई पनि प्रधानमन्त्रीले ट्रस्ट गरेको बताए । ‘दुई जनाबिच जति पनि ट्रस्ट छ त्यो व्यवहारले देखाउँछ’, पोखरेलको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us