फिलिपिन्सको विद्यालयमा गोली चल्दा ३ विद्यार्थीको मृत्यु, ७ घाइते

काठमाण्डु टुडे २०८३ असार ८ गते १६:१९ मा प्रकाशित

एजेन्सी– फिलिपिन्सको मध्यक्षेत्र टाक्लोबानस्थित एक माध्यमिक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा ३ विद्यार्थीको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन । प्रहरीले १५ र १४ वर्षका दुई किशोरले विद्यालयभित्र अन्धाधुन्ध गोली चलाएको जनाएको छ ।

घटना स्थानीय समयअनुसार बिहान करिब ९ बजे लेइते प्रान्तको टाक्लोबान सहरस्थित सान जोसे नेशनल हाइस्कुलमा भएको एएफपीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडियोमा विद्यार्थीहरू चिच्याउँदै रोइरहेको तथा गोलीको आवाजबीच कक्षाकोठाभित्र लुकेर ज्यान जोगाउने प्रयास गरिरहेको देखिन्छ ।

ती भिडियोहरु आफूले प्रमाणित समेत गरेको एएफपी समाचार एजेन्सीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै टाक्लोबान शहरका सुरक्षाकर्मी विद्यालय पुगेका थिए । प्रहरीले क्षेत्रलाई सुरक्षित बनाएर घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाएको थियो ।

प्रारम्भिक अनुसन्धानअनुसार घटनामा ७ जना घाइते भएका छन् भने तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका छन् । मृतक र घाइतेहरूको नाम सार्वजनिक गरिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us