काठमाण्डू, ८ असार– पोर्चुगलका विङ्गर फ्रान्सिस्को कोन्सेकाओले टोलीका खेलाडीहरूले कप्तान क्रिस्टियानो रोनाल्डोलाई अनिवार्य रूपमा पास दिनुपर्ने कुनै दबाब नरहेको बताएका छन ।
डीआर कंगोसँग १–१ को बराबरीपछि रोनाल्डोको प्रदर्शन र टोलीमा उनको भूमिकाबारे आलोचना बढिरहेका बेला कोन्सेइकाओले खेलाडीहरूले सधैं राम्रो स्थितिमा रहेका साथीलाई बल दिने स्पष्ट पारेका छन । उनले भनेका छन, ‘हामी रोनाल्डोलाई मात्र पास दिन बाध्य छैनौं। मैदानमा जो राम्रो अवस्थामा हुन्छ, उसैलाई बल दिन्छौं ।’
कोन्सेइकाओले ४१ वर्षीय रोनाल्डोलाई टोलीका लागि प्रेरणाको स्रोत भन्दै उनको अनुभव, नेतृत्व र गोल गर्ने क्षमताको प्रशंसा गरेका छन । ‘क्रिस्टियानो अझै पनि उदाहरणीय खेलाडी हुन्। उनी टोलीका अन्य सदस्यसरह सफलता हासिल गर्न योगदान गरिरहेका छन्’ उनले थपे ।
यता, पूर्व फ्रान्सेली स्टार स्ट्राइकर थिएरी हेनरीले लगायत केहीले रोनाल्डोको खेलप्रति प्रश्न उठाएका छन् । ‘टोलीले गोल गर्नु आवश्यक छ, रोनाल्डोले नै गोल गर्नुपर्छ भन्ने छैन,’ हेनरीले फक्समा भने । ह्युस्टनको खेलको बिचमा विपक्षी मिडफिल्डर न्गालेल मुकाउलाई रोनाल्डोलाई रोक्ने योजना छ कि भनेर सोधिएको थियो ।
‘वास्तवमा होइन। हामीलाई थाहा छ ऊ अब पहिले जस्तो खेलाडी रहेन र अब ऊ बूढो भइसकेको छ,’ मुकाउले जवाफ दिए,‘ उनी अब पहिलेको जस्तो प्रयास गर्न सक्दैनन् । तर मलाई उनीप्रति ठूलो सम्मान छ ।’ प्रशिक्षक रोबर्टो मार्टिनेजमाथि पनि रोनाल्डोलाई मैदानबाट हटाउन हिच्किचाएको आरोप लागेको छ । पोर्चुगलले पूरा खेल खेल्दा रोनाल्डोले बललाई सबैभन्दा कम २५ टच गर्न पाएका थिए ।
लामो समयदेखिका प्रतिद्वन्द्वी लियोनेल मेस्सी भने फरक देखिन्थे । ३८ वर्षीय खेलाडीले एक दिन अघि ह्याट्रिक गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अल्जेरियामाथि ३–० को जित दिलाएका थिए । अब पोर्चुगलले मंगलबार उज्बेकिस्तानविरुद्ध खेल्दै पहिलो जितको खोजी गर्नेछ ।