को हुन् रास्वपा महाधिवेशनस्थल वरपर खटिएका कालाबस्त्रधारी ?

काठमाण्डु टुडे २०८३ असार ७ गते १२:३२ मा प्रकाशित

काठमाण्डू, ७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज (आइतबार) बाट चितवनमा सुरु हुने महाधिवेशन उदघाटनस्थलमा कालो ड्रेस लगाएका युवाहरु पनि खटिएको देखिन्छ ।

तलदेखि माथिसम्म कालो ड्रेस र कालै चस्मा लगाएका हट्टाकट्टा युवाहरु देख्दा जोसुकैलाई कोहोलान् भन्ने चासो लाग्न सक्छ । उनीहरु खासमा चितवनकै एक निजी सेक्युरिटी गार्ड कम्पनीका युवाहरु हुन् ।

उनीहरुलाई ‘गढी सेक्युरिटी’ कम्पनीले रास्वपा महाधिवेशन स्थलमा परिचालन गरेको हो । भरतपुरका बालमन्दिरस्थित गढी सेक्युरिटी कम्पनीका मार्केटिङ म्यानेजर राजेन्द्र गोलेले  बाउन्सरसहित १०० जनाको टोलीलाई महाधिवेशनस्थल वरपर खटाइएको जानकारी दिएका छन ।

रास्वपाको पहिलो महाधिवेशन उदघाटन जिल्ला प्रहरी कार्यालय नजिकको गेष्टहाउस चौरमा हुँदैछ । यसैगरी पार्किङका लागि पारस बसपार्क, मैयादेवी कलेज र विशाल चोकमा तोकिएको छ ।

गढी सेक्युरिटीले चितवनमा आयोजना हुने विभिन्न सभा समारोह, महोत्सव लगायतका कार्यक्रममा पनि आफ्ना युवा टोलीलाई खटाउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us