पार्टी पुनर्गठनका लागि महत्वपूर्ण आधारः एमाले उपाध्यक्ष पौडेल

काठमाण्डु टुडे २०८३ असार ५ गते १३:०३ मा प्रकाशित

काठमाण्डू, ५ असार– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा निर्वाचन–२०८२ को समीक्षा तथा पार्टी पुनर्गठन अभियानअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय भेलामा उठेका सुझावहरू पार्टी पुनर्गठनका लागि महत्वपूर्ण आधार बन्ने बताएका छन ।

कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित प्रदेशस्तरीय भेलावछि सामाजिक सञ्जालमा लेख्दै पौडेलले सहभागी नेताहरूले राखेका सुझावलाई कार्यदलले तटस्थ र गम्भीर ढङ्गले सुनेको तथा ती सुझाव पार्टीका लागि अत्यन्त उपयोगी हुने बताएका छन ।

उपाध्यक्ष पौडेलले एमालेको विशेषता विचार र बहसलाई निरुत्साहित गर्नु नभई प्रोत्साहन गर्नु रहेको उल्लेख गर्दै पार्टीभित्रको बहस स्वस्थ, मर्यादित र विधिसम्मत हुनुपर्ने धारणा राखेका छन्। बहसले पार्टीलाई सही निष्कर्षमा पुर्‍याउने र आन्तरिक एकतालाई थप मजबुत बनाउने समेत बताएका छन ।

उपाध्यक्ष पौडेलले लुम्बिनीको कम्युनिस्ट आन्दोलनले पछिल्लो समय गम्भीर धक्का र पराजय बेहोरेको स्वीकार गर्दै त्यसबाट शिक्षा लिएर, आत्मसमीक्षा गर्दै र पार्टीलाई पुनर्गठित गरेर नेपाली कम्युनिस्ट आन्दोलनको विजययात्रा सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।

उनले प्रदेशस्तरीय भेलामा सहभागी नेता–कार्यकर्ताले राखेका सुझावप्रति धन्यवाद व्यक्त गर्दै ती सुझावलाई कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वसमक्ष प्रस्तुत गरिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us