रास्वपा महाविधेशन तयारी तीव्र, रवि र बालेनले गर्नेछन् उद्घाटन समारोहमा सम्बोधन

काठमाण्डु टुडे २०८३ असार ५ गते १२:५२ मा प्रकाशित

काठमाण्डू, ५ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी ७ देखि ९ असारसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ ।

भोलि ६ गते साँझ रास्वपा केन्द्रीय समितिको बैठक भरतपुरमा बस्ने तय समेत भएको छ । उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरुबाट शुभकामनासहित पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने रास्वपाका नेताहरुले बताएका छन ।

उद्घाटन सत्रलाई भव्य बनाउन चितवनको चिनारी झल्कने विभिन्न जातीय संस्कृति झल्कने नाँचहरू पनि प्रदर्शन गर्ने तयारी छ । ८ गते बिहानदेखि बन्दसत्रका कार्यक्रम सुरु गर्ने रास्वपाले जनाएको छ । भरतपुरको गेस्ट हाउस चौरमा हुने उद्घाटन समारोहका लागि घामपानी छेक्ने छानोसहितको ‘जर्मन ह्याङ्गर’ तयार गरिएको छ ।

तीनवटा सेक्सनमा तयार गरिएको ह्याङ्गरमा ५ हजारसम्म कुर्सी राख्न मिल्छ । काठमाण्डूको मिडिया स्पेस सोलुसनले बनाउँदै गरेको संरचनामा मुख्य खण्ड २० मिटर चौडा र ७५ मिटर लम्बाइको रहनेछ । बाँकी ३० मिटर लम्बाइ र २० मिटर चौडाइ भएका दुईवटा सहायक खण्ड रहनेछन् ।

यिनको उचाइ बीचको भागमा २४ फिट र छेउको उचाइ १६ फिट रहनेछ । यस भित्र १० हजार जति अटाउन सक्ने जनाइएको छ । रास्वपाले उद्घाटन सत्रका लागि स्वतस्फुर्त रुपमा आफैं व्यवस्थापन गरेर सहभागी हुन आह्वान गरेको छ । चैत ७, ८ र ९ गते हुने रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्र गेस्ट हाउस चौरमा भए पनि बन्दसत्र भने चितवन उद्योग संघको हलमा गर्ने गरी व्यवस्थापन गरिएको छ ।

असार ७ गते दिउँसो २ बजे उद्घाटन समारोह सुरु गर्ने तयारी छ । रास्वपाको महाधिवेशन उद्घाटन पूर्वी चितवनको टाँडीमा गर्ने भनिए पनि अन्तिम समयमा आएर भरतपुर सारिएको थियो ।

होटल स्टारमा उद्घाटन सत्र समारोहका लागि बाँसको पण्डाल तयार हुँदै गर्दा महाविधेशन उद्घाटनस्थल परिवर्तन गरिएको हो । पण्डाल लगायतका संरचना बनाउन ७ लाख जति खर्च भइसकेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us