मेसीले बनाए एकै खेलमा ६ ठूला कीर्तिमान

काठमाण्डु टुडे २०८३ असार ३ गते १२:३६ मा प्रकाशित

काठमाण्डू,२ असार– साविक विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को यात्रा शानदार जितसँगै सुरु गरेको छ। कप्तान लिओनल मेसीको अविस्मरणीय ह्याट्रिक प्रेरणामा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियानमा बलियो सन्देश दिएको हो ।

क्यान्सास सिटी रंगशालामा भएको खेलको सुरुआत दुवै टोलीका लागि मिश्रित रह्यो । मेसी र अल्जेरियाका फारेस चैबीले गरेको गोल अफसाइडका कारण मान्यता नपाए पनि त्यसले खेलको रोमाञ्च बढाएको थियो ।

खेलको १७ औं मिनेटमा रोड्रिगो डे पलको उत्कृष्ट पासलाई सदुपयोग गर्दै मेसीले डिबक्स बाहिरबाट आकर्षक प्रहारमार्फत अर्जेन्टिनालाई अग्रता दिलाए। पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाका लागि दोस्रो हाफमा पनि मेसी नै नायक बने ।

६०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको प्रहार गोलरक्षक लुका जिदानले रोक्ने प्रयास गरे पनि फर्किएको बललाई मेसीले जाली चुमाउँदै व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि ७६औं मिनेटमा निकोलस गोन्जालेजको पासमा बक्सको किनारबाट गरेको सशक्त प्रहार गोलमा परिणत गर्दै उनले ह्याट्रिक पूरा गरे ।

यो ह्याट्रिक केवल अर्जेन्टिनाको जितका लागि मात्र महत्वपूर्ण रहेन, मेसीका लागि पनि ऐतिहासिक बन्यो । ३८ वर्षीय सुपरस्टारले विश्वकप इतिहासका अनेक कीर्तिमानमा आफ्नो नाम थपे ।

ह्याट्रिकसँगै मेसीको विश्वकप गोल संख्या १६ पुगेको छ, जसले उनलाई विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको सूचीमा मिरोस्लाभ क्लोजसँग बराबरीमा पुर्‍याएको छ । साथै, उनी फुटबल इतिहासमा ६ वटा फरक विश्वकप संस्करण खेल्ने पहिलो खेलाडी बने ।

यो खेल मेसीको अर्जेन्टिनाका लागि २००औं अन्तर्राष्ट्रिय खेल पनि थियो। विश्वकपमा पहिलो पटक ह्याट्रिक गर्ने उपलब्धि हासिल गरेका उनले आफ्नो कीर्तिमानी विश्वकप खेल संख्या २७ पुर्‍याउँदै अर्को रेकर्डलाई पनि मजबुत बनाए ।

अर्जेन्टिनाका लागि यो जित अर्को कारणले पनि विशेष रह्यो । विश्वकपको साविक विजेताको हैसियतमा मैदान उत्रिँदा पहिलो खेल जितेको यो अर्जेन्टिनाको इतिहासकै पहिलो अवसर हो ।

मेसीको जादुमयी प्रदर्शनसँगै अर्जेन्टिनाले विश्वकप २०२६ मा उपाधि रक्षा अभियानको सुरुआतमै आफ्नो दाबेदारी बलियो रूपमा प्रस्तुत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us